त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने सरकारको तयारी

काठमाण्डु टुडे २०८१ साउन १६ गते १२:२० मा प्रकाशित

काठमाण्डु, १६ साउन– सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने तयारी गरेको छ । बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भईरहेको गृहसचिव एकनारायण अर्यालले जानकारी दिएका छन ।

अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यसबारे जानकारी गराएका हुन । उनले भने, ‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौं ।’

मुग्लिन –नारायणघाट सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए ।

हालसम्म २४ वटा शव मात्रै फेला परेका छन । अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन । यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतीय जनशक्तिसमेत परिचालन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us