काठमाण्डु, १६ साउन– काठमाण्डु उपत्यकामा भारी वर्षा भएको छ ।
उपत्यकाका तीनवटै जिल्लास्थित सब नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डुको धाप ड्याममा १०७.८ मिलिमिटर, बूढानीलकण्ठमा ९० मिलिमिटर, कपनमा ७४ मिलिमिटर, सुन्दरीजलमा ६०.६ मिलिमिटर, बबरमहलमा ६२.२ मिलिमिटर, नैकापमा ६१.४ मिलिमिटर, कीर्तिपुरमा ६५ मिलिमिटर, टीकाथलीमा ६७.४ मिलिमिटर र खुमलटारमा ५९.४ मिलिमिटर वर्षा भएको छ ।
अविरल वर्षासँगै बागमती र विष्णुमति नदीसहित हनुमन्ते, मनोहरा, धोबी खोला र गोदावरी खोलामा बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ललितपुरको खोकनामा बागमतीले जलसतह पार गरेको छ । महाशाखाका अनुसार बागमतीको जलसतह ५.५९ मिटर पुगेको छ
पछिल्लो १२ घन्टामा उपत्यकाका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।