काठमाण्डु, १५ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्रष्टाहरूको सम्मान गर्ने बताएका छन । एमाले साहित्य, कला तथा संस्कृति विभागले मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको स्रष्टा भेटघाट तथा कृति लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले जनतामा जागरण ल्याउनका लागि स्रष्टाहरूले दिएको योगदान सदा स्मरणीय रहिरहने बताएका छन । उनले स्रष्टाहरूसँगको भेटघाट सर्वदा मिठो हुने टिप्पणी समेत गरे ।
जनवादी कलाकारहरू रामेश, रायन लगायतले जनचेतना अभिवृद्धिमा पुर्याएको योगदान अतुलनीय रहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन ।
एमालेले पछिल्लो केही वर्ष यतादेखि साउन १५ गते खिर खाने दिनको अवसर पारेर स्रष्टाहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गर्दै आएको छ । प्रधानमन्त्री ओलीले सो कार्यक्रमले स्रष्टाहरूले देश र जनताका लागि दिएको योगदानको स्मरण गराउने बताएका छन ।