२ वर्ष पुग्न एक हप्ता अगाडि नै राजीनामा दिन्छु: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ साउन १५ गते १९:०२ मा प्रकाशित

काठमाण्डु, १५ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भविष्यबारे चिन्ता नगर्न सचिवहरुलाई अनुरोध गरेका छन । उनले कतिपयले यो सरकार पनि कति दिन हो र भनेर हल्ला फिँजाउन सक्ने भन्दै उनले भनेका छन्, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ।’

आज (मंगलबार) प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको पनि बताएका छन । उनले कांग्रेस र एमालेबीच १७ असारमा भएको सातबुँदे सहमतिमा २ वर्ष ओली प्रधानमन्त्री हुने र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने पनि बताएका छन ।

त्यही सहमति अनुसार ३० असारमा प्रधानमन्त्री भएका ओलीले आफू सहमतिप्रति प्रतिवद्ध रहेको बताए । ‘यो सरकार मेरो नेतृत्वमा दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु’, गर्छ कि गर्दैन भन्ने कुनै दुविधा नहुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यसपछि शेरबहादुरजीको नेतृत्वमा चुनावसम्म जाने हो ।’

उनले कांग्रेस सांसद रमेश लेखकको नाम नलिई संसदको रोष्ट्रमबाट सबै धोका खाएकाहरु एक भएर धोकाबाट सिक्न खोजे भने के हुन्छ विचार गर्नुभएको छ कि छैन भनेको सम्झिाएका छन । यो गम्भीर प्रश्न भएपनि आफूहरु बदला लिनुपर्छ भनेर एक नभएको प्रधानमन्त्री ओलीले बताए ।

देश बनाउन भरपर्दो, स्थिर र एक्सन ओरेन्टेड सरकार बनाएको भन्दै उनले भने, ‘शान्ति सुव्यवस्था कायम गरिछाड्ने, भ्रष्टाचार नियन्त्रण गरिछाड्ने, विकास अगाडि बढाइछाड्ने, सुशासन कायम गरिछाड्ने, जनतालाई सकेसम्म उपयुक्त ढंगले सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सरकार बनेको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us