काठमाण्डु, १५ साउन– नेकपा माओवादी केन्द्रले ०८४ को निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । गत शुक्रबारदेखि केन्द्रीय कार्यलय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी ०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन ।
पाँच दिनसम्म चलेको बैठक समापन गर्दै निवर्तमान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन् । सरकारबाट हट्नुपर्ने परिस्थतिले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर समेत मिलेको प्रचण्डले बताएका छन ।
बैठकको निर्णय जानकारी दिदै प्रवक्ता सापकोटाले भने, ‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ, जसले गर्दा हाम्रा विचारहरु, हाम्रा राजनीतिक कार्यदिशाहरु, हाम्रा दृष्टिकोणहरु जनतामा सोझै पुग्न सकियोस् ।’
यसअघि चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्तहरु जनतामा लैजान अप्ठ्यारो परेको उनले बताएका छन । तर एक्लै चुनाव लड्दा पार्टीको कुरा जनतामा राख्न सकिने अवसर मिल्ने निष्कर्ष समेत बैठकले निकालेको छ ।