काठमाण्डु, ५ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी खोल्दैमा वैकल्पिक पार्टी नबन्ने दाबी गरेका छन । वैकल्पिक पार्टी बन्नका लागि वैकल्पिक सोच र कार्यक्रम आवश्यक रहेको उनले बताएका छन ।
आज शनिबार डा.मुक्ति रिजालद्वारा लिखित ‘बाबुरामः अ भिजनरी रिबेल’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन ।
उनले भने, ‘पार्टी गठन गर्ने, दुई चार जना मान्छे जम्मा हुने, नेता हुने, एक खालको एजेन्डा उठाइदिने र आफूलाई वैकल्पिक भन्ने त्यस्तो होइन । वैकल्पिक भनेर त धेरै आउँछन् तर वास्तवमा वैकल्पिक सोच, नीति कार्यक्रम र विश्व र नेपाल सुहाउँदो नीति व्यवहार र आचरण लिएर जाने नै वैकल्पिक शक्ति बनेर आउँछ ।’
भट्टराईले स्वतन्त्रता, समानता र भ्रातृत्वलाई आधुनिक दर्शनको रूपमा व्याख्या गरिएको पनि बताएका छन । तर पुँजीवाद र उदारवादले व्यक्तिगत र निजी स्वतन्त्रता, बजार अर्थतन्त्रको नाममा समानता र भ्रातृत्वलाई बिर्सने र साथै कम्युनिस्टले समानताको नाममा वर्गीय समानताको मात्र कुरा गरेर भ्रातृत्व र स्वतन्त्रताको कुरा छाडिदिने गरेको टिप्पणी गरेका छन । उनले भने, ‘त्यो एकाङ्की भयो भन्ने मेरो बुझाइ हो ।
त्यसले केही समय काम गर्यो तर एक्काइसौँ शताब्दीमा यसले काम गर्दैन । नवउदारवाद र राज्य नियन्त्रित साम्यवाद असफलतातिर गएका छन्, ‘अब योभन्दा माथि जानुपर्छ ।
यी दुवैका नराम्रा पक्षलाई छाडेर, राम्रा कुरा मात्र लिएर नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने अब ‘न्यु इन्लाइटन्मेन्ट’ चाहिन्छ । स्वतन्त्रता, समानता र भ्रातृत्वको समुच्चता सहितको नयाँ विचार चाहिन्छ भन्ने बहस हो ।
यसलाई नै वैकल्पिक शक्ति भनेको हो ।’ संविधान जारी भएपछि पुँजीवादी क्रान्तिको एक चरण पूरा भएको र यसमा नै टेकेर अगाडि जानुपर्छ भन्ने विचार आफ्नो रहेको स्पष्ट पारे । ‘बाबुराम कसरी नयाँ हुन्छ भनेर पनि धेरैले प्रश्न गर्छन् ।
तर वैकल्पिक शक्ति आकाशबाट आउने होइन, विचारले नयाँ बन्ने हो,’ उनले भने । माओवादी छाडेर कम्युनिस्ट विरुद्धको हतियार पो बन्ने हो कि भन्ने घनश्याम भुसालको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हिजो शीतयुद्धमा अमेरिकाको गाली गर्नेलाई चीन र रुसले बढाइचढाइ गर्थे ।
चीन र रुसकाले उनीहरूलको आलोचना गरे, अमेरिकालगायतले तुरुन्तै नोबेल पुरस्कार दिन्थे । यसरी प्रयोग पनि हुन्थे । एक थरीलाई यस्तो आशङ्का पनि छ । अरूलाई भने छाडेर ठिकै गर्यो भन्छन् । तर दुवै गलत हो ।’