रौतहटको राजपुरमा मोहरम ताजिया पर्वमा झडप, १९ सुरक्षाकर्मी घाइते

काठमाण्डु टुडे २०८१ साउन ४ गते १३:२६ मा प्रकाशित

काठमाण्डु, ४ साउन– रौतहटको राजपुरमा मुस्लिम धर्मालम्बीहरूको पर्व मोहरम ताजिया (दाह) मेलामा झडप भएको छ । झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।

रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा मुस्लिम समुदाय मेला मनाउन घरेलु हतियार (लठ्ठी, तरवार, भाला) सहित उपस्थित भएको प्रहरीले जानकारी दिएको छ ।

दाहाको झण्डा गाड्ने क्रममा होहल्ला भएपछि उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरेको पनि प्रहरीले जानकारी दिएको छ ।

दाहा नचाउने र झन्डा गाड्ने क्रममा उच्छृङ्खल गतिविधि भई धकेलाधकेल भएको र सो क्रममा सम्झाउन खोज्दा मेलामा सहभागी ढुंगामुढामा उत्रिएको प्रहरीले जानकारी दिएको छ ।

ढुंगामुढाबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका एसपी विक्रम हुमागाईंले जानकारी दिए ।

उनीहरूको अवस्था सामान्य रहेको छ । मेलामा नेपाल प्रहरीका एसपी दिलिप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंको कमान्डमा प्रहरी टोली परिचालन गरीएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us