
काठमाण्डु, ३१ असार– आर्थिक वर्ष २०८०/०८१ मा सरकारको चालु खर्चमा व्यापक कमी देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले चालु प्रकृतिको खर्च घटेको औंल्याएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ अर्ब १३ करोड ७२ लाख रूपैयाँले उक्त खर्च घटेको प्रतिवेदमा उल्लेख छ ।
तलब भत्ताका साथै सरकारी सभा सेमिनार, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको ब्याज भुक्तानी, वित्तीय हस्तान्तरण, अनुदान, सहुलियत र सार्वजनिक सम्पत्तिको मर्मत सम्भारमा हुने खर्चमा भारी कटौती भएको हो ।
समग्रमा ५.२७ प्रतशितले उक्त खर्च घटेको महालेखाको प्रतिवेदनमा छ । अर्थ मन्त्रालयका अुनसार आर्थिक वर्ष २०३१/०३२ यताका कुनै पनि वर्षमा यस्तो प्रकृतिको खर्च घट्नुको साटो हरेक वर्ष बढेको थियो ।
विगत ५० वर्षमा वार्षिक औषत १७ प्रतिशतले चालु प्रकृतिको खर्च बढ्दै आएको थियो । गत वर्ष १० खर्ब ५ अर्ब चालु खर्च भएकामा यो वर्ष ९ खर्ब ५२ अर्ब चालु खर्च भएको देखिएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले यो वर्ष उल्लेख्य रुपमा आचु खर्च घटेको जानकारी दिए । उनका अनुसार सरकारको मितव्ययी नीतिका कारण यस्तो भएको हो ।