अबको प्रधानमन्त्री ओली कि देउवा ? राष्ट्रपतिले बोलाए कानूनविद

काठमाण्डु टुडे २०८१ असार २८ गते १७:३५ मा प्रकाशित

काठमाण्डु, २८ असार– राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनबारे छलफल गर्न कानूनविदलाई शीतलनिवास बोलाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएर पदमुक्त भएसँगै राष्ट्रपतिले परामर्शका लागि कानूनविदलाई बोलाएका हुन् ।

प्रतिनिधिसभाको धारा ७६ उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले धारा १०० को (२) अनुुसार संसदबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि ७६ (२) मै फर्कने वा ७६ (३) को व्यवस्थाअनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने भन्नेमा विवाद छ ।

काँग्रेस र एमालेले ७६ (२) अनुसार नै सरकार गठनको प्रक्रिया अघि बढ्ने दाबी गरेका छन् । तर, माओवादी केन्द्रको भने ७६ (३) अनुसार सरकार गठन हुनुपर्ने तर्क छ । यस विषयमा कानूनविदका समेत धारणा बाझिएका छन् । कांग्रेस र एमालेले ७६ (२) अनुसार एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई यसअघि नै अनौपचारिक रुपमा आग्रह गरिसकेका छन् ।

राष्ट्रपति कार्यालय स्रोतका परामर्शका लागि नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापा, हरिहर दाहाल, भीमार्जुन आचार्य र विपिन अधिकारीलगायतलाई शीतलनिवास बोलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us