कुनै दलले चाहेर मात्र संविधान संशोधन हुँदैनः गगन थापा

काठमाण्डु टुडे २०८१ असार २७ गते १३:४५ मा प्रकाशित

विराटनगर, २७ असार– कांग्रेस महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक दलले चाहेर मात्र संविधान संशोधन सम्भव नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई प्रभावित गर्ने गरी संविधान संशोधन नहुने बताए ।

संविधान कार्यान्यवनका क्रममा देखिएका त्रुटि सच्याउन सबै दल एकै ठाउँ उभिनुपर्ने उनको भनाइ थियो । ‘१० वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटि सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ’थापाले भने ।

यद्यपि काँग्रेस र एमाले शीर्ष नेतृत्वबीच भएको ७ बुँदे सहमतिको पालना गरिने बताए । सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी ओली र दोश्रो चरणमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने थापाले स्पष्ट गरे ।

एमालेसँगको सात बुँदे समझदारीको पार्टी कार्यसम्पादन समितिले सर्वसम्मत स्वामित्व लिएको थापाले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us