काठमाण्डु, २१, असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेले दलाल पुँजीवादसँग अँगालेको आरोप लगाएका छन । आज शुक्रबार काठमाण्डुको प्रज्ञा भवनमा एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न समारोहमा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन ।
खनालले कांग्रेस र एमाले मिलेर बनाएको समीकरणलाई दलाल पुँजीवादको संज्ञा दिए । कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने दाबि गरेक छन । उनले अहिले एमालेभित्र भूकम्प गएको पनि दाबी गरेका छन ।
उनले एकीकृत समाजवादीको विकास र बिस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको पनि बताएका छन । उनले भने, ‘हाम्रो पार्टीको विकास र बिस्तारलाई रोक्नसक्ने यो देशमा कुनै शक्ति छैन । हरेक हिसाबले हाम्रो पार्टी अघि बढ्ने अवस्थामा छ ।
कम्युनिस्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणपन्थी यथास्थितिवाद हाबी छ । दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिस्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा एमाले पार्टी ३ लाख ५० हजार सदस्यहरूले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ । त्यो पार्टीभित्र व्यापक रूपान्तरणको अभियान चल्नेछ ।’