पूर्वसांसद इच्छाराज तामाङविरुद्ध दोस्रो मुद्दा दर्ता

काठमाण्डु टुडे २०८१ असार २० गते १३:१६ मा प्रकाशित

काठमाण्डु, २० असार– सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीको अभियोगमा व्यवसायी एवं पूर्व सांसद समेत रहेका एमाले नेता इच्छाराज तामाङ र उनका आफन्त केशवलाल श्रेष्ठविरुद्ध दोस्रो मुद्दा दायर गरीएको छ ।

उनीहरुविरुद्व ५ अर्ब बिगो दाबी गर्दै बुधवार जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले अभियोग पत्र दायर गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा परेको पूरक जाहेरीको आधारमा अनुसन्धान सकेर सीआईबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डु बुझाएको थियो ।

उक्त अनुसन्धान प्रतिवेदनको आधारमा नयाँ मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाण्डुले जानकारी दिएको छ । सहकारी ठगीमा तामाङ र तत्कालीन समयमा सहकारीका अध्यक्ष रहेका केशललाल श्रेष्ठ सहितलाई १ हजार ५०३ जना बचतकर्ताको जाहेरीको आधारमा ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो मागदाबि गरीएको छ ।

तामाङविरुद्ध २०७८ सालदेखि ठगी गरेको भन्दै यसअघि मुद्दा दायर गरिएको थियो। उक्त मुद्दा जिल्ला अदालतमा विचाराधीन नै रहेको छ । सोही मुद्दामा न्यायाधीशलाई घुस दिन खोजेको भनी विवाद पनि भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us