मेरो इच्छा विपरीत सरकारमा जानु पर्‍यो: महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ असार २० गते १२:२१ मा प्रकाशित

काठमाण्डु, २० असार– पूर्व मन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छा विपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति आएको बताएका छन ।

आज (बिहिबार) विराटनगर विमानस्थलमा सञ्चार कर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो यस्तो बताएका हुन । उनले भने, ‘मेरो इच्छाले हुन्थ्यो भने अहिले पनि त्यही ठाउँमा हुन्थ्यो ।

यो सरकार बन्ने या नबने भन्ने कुरा व्यक्ति वा दलको कारणले हुँदैन रहेछ,’ कांग्रेस ८४ सम्म प्रतिपक्षमै बन्छ भन्नु भएको थियो नि भन्ने प्रश्नमा उनले भने, ‘अहिलेको परिस्थिति बनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारण नै हो ।

प्रचण्डको यति धेरै अस्थिर चरित्र नभएको भए अहिलेको अवस्था आउँदैन थियो । प्रचण्डले एमालेसँगै सरकार बनाएको ४ महिना पनि नपुग्दै अर्कैसँग लसपस गर्न हात खुट्टा पसारेपछि अहिलेको दुर्घटना निम्तिएको हो ।’

थापाले कांग्रेसको नेतृत्वमा बनेको अहिलेको संविधान जोगाउने जिम्मेवारी पनि कांग्रेसकै बढी रहेको जिकिर गरेका छन ।उनले भने, ‘यो संविधान हामीले अरु कसैका लागि बनाइदिएको होइन ।

यो संविधानलाई जोगाउने जिम्मेवारी हाम्रो हो,’ थापाले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समावेशीता, समानुपातिक व्यवस्था, सबैको स्वतन्त्रता, धार्मिक, आर्थिक, सांस्कृतिक स्वतन्त्रता र नेपालको विविधतालाई सबै कुरालाई थप सुदृढ गर्नेगरी संविधानको पुनरावलोकन गर्ने कांग्रेसको प्रस्ताव हो ।’

यद्यपि कांग्रेस र एमालेको सङ्ख्याले मात्रै संविधान संशोधन गर्न नपुग्ने पनि बताएका छन । उनले थपे, ‘हामी सबैलाई साथमा लिएर संविधान संशोधन गर्ने हो ।’ दुईवटा दल मिल्दै गर्दा कहिलेकाँही सङ्ख्याको आधारमा कानुनी शासनमा ध्यान नपुग्ला कि भन्ने चिन्ता रहेपनि सरकारभन्दा बाहिर बसेका नेताहरूले यो सांसदबाटै खबरदारी गर्ने पनि उनले बताएका छन ।

वर्तमान सरकार सम्पूर्ण रुपमा अल्पमतमा परेको कारण प्रचण्डले मार्ग प्रशस्त गर्ने उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले राजीनामा दिएर अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि दलको तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने छलफल सुरु हुने उनले बताए ।

थापाले आफू सरकारमा नजाने सङ्केत गरे । ‘म महामन्त्री छँदै छु नि,’ तपाई गृहमन्त्री हुने भन्ने सुनिएको छ नि भन्ने संचारकर्मीको प्रश्नमा उनले जवाफ दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us