काठमाण्डु, १९ असार– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने दाबी गरेका छन ।
आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन । उनले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको बताएका छन । उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताए ।
गौतमले निर्वाचन प्रणालीका कारण राजनीतिक पार्टीहरु अल्पमतमा हुने गरेका भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने पनि बताएका छन ।
उनले व्यक्ति नभइ पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने दाबी गरेका छन । उनले भने, ‘नेपाल राष्ट्रलाई सधैँ गरिब हुन प्रेरित गर्ने हामीले अवलम्वन गरेको यो संसदीय शासन प्रणाली र निर्वाचन प्रणाली नै हो ।
अब साहस गरेर नेपालको संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा प्रवेश गरौँ ।’ गौतमले नेपालका सबै कृषियोग्य भूमीलाई राष्ट्रियकरण गर्नुपर्ने पनि बताएका छन ।