मध्यरात कांग्रेस–एमालेबिच भएको सम्झौता पश्चगामी: देव गुरुङ

काठमाण्डु टुडे २०८१ असार १९ गते १५:३९ मा प्रकाशित

काठमाण्डु, १९ असार– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कांग्रेस र नेकपा एमालेबिच मध्य रातमा भएको गठबन्धन पश्चगामी भएको बताएका छन् ।

आज (बुधबार) संवाद डबलीले गरेको कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन । उनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन संविधान संशोधन गर्ने कुरा आएको पनि बताएका छन ।

गुरुङले भने, ‘संविधानको जग वृहत् शान्ति सम्झौता हो, वृहत् शान्ति सम्झौताको जग जनयुद्ध र जनआन्दोलन हो । मध्यरात षड्यन्त्रमूलक ढङ्गबाट संविधान संशोधनको सहमति गरेर उपलब्धिलाई नै उल्टाउँदै २०४७ सालको संविधान फर्काउन लागेको हो त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।’

उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबिच भएको सहमतिले देशमा द्वन्द्व निम्त्याउने पनि बताएका छन ।

महासचिव गुरुङले प्रधानमन्त्री प्रचण्डले राजीनामा नलिने पनि बताएका छन । उनले नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत माग्ने र विश्वासको मत नपाएपछि सोही धाराको (३) अनुसार सरकार गठनको प्रक्रिया सुरु हुने पनि बताएका छन ।

गुरुङले कोशी सरकार गठनमा सर्वोच्चले गरेको व्याख्या यहाँ मेल नखाने समेत दाबी गरेका छन । महासचिव गुरुङले एमालेले अहिले नै समीकरण छोड्नुपर्ने कुनै कारण नभएको बताएका छन ।

उनले आन्तरिक रूपमा झिना मसिना कुरा भए पनि काँग्रेससँग गठबन्धन गर्नुपर्ने कारण आफ्नो पार्टीले नदेखेको दाबी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us