एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाण्डु टुडे २०८१ असार १९ गते १५:२८ मा प्रकाशित

काठमाण्डु, १९ असार– सरकारमा सहभागी सबै भन्दा ठुलो दल एमालले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको छ ।

मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो ।

तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी सुरु गरेको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘संसद्को दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले राजीनामा गरेर सहयोग गर्नु राम्रो कुरा हो ।

किनकि उहाँको अंक पुग्दैन, सरकार चल्दैन’, ‘तर प्रक्रियामा जान चाहनु हुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौं । हाम्रा मन्त्रीहरु फर्कनु हुन्छ ।’

दिउँसो ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाबारे निर्णय हुने उनले जानकारी दिएका छन । गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us