काठमाण्डु, १८ असार– (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले कांग्रेस र एमालेको सत्ता सहकार्यको यात्रा पश्चगामी दाबी गरेका छन ।
आज (मंगलबार) बिहान बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकपछि प्रवक्ता सापकोटाले यस्तो बताएका हुन ।
उनले अप्रत्याशितरुपमा घटनाक्रमहरू अगाडि आएका पनि दाबी गरेका छन । उनले भने, ‘बाहिर संविधान संशोधनको कुरा आएको छ ।
त्यसमा पनि समानुपातिक निर्वाचन प्रणालीको कुरा छ । यो अग्रगमनभन्दा पनि पश्चगमनतिर जाने संकेत देखिएको छ । यो बेठिक छ भन्ने हामीलाई लागेको छ ।
यो यात्रा अग्रगमनतिर परिलक्षित भएको हामीले महसुस गरेका छैनौँ ।’ समानुपातिक निर्वाचन प्रणाली हटाउने कुरा माओवादी केन्द्रलाई स्वीकार्य नहुने सापकोटाले बताए ।
कांग्रेस र एमाले सत्ता सहकार्यका लागि मिल्ने कुरा संवैधानिक र लोकतान्त्रिक मूल्य मान्यता आधारित नभएको पनि उनले बताएका छन । उनले भने, ‘पहिलो कुरा देशका पहिलो र दोस्रो पार्टी मिलेर सरकार बन्ने कुरा प्राकृतिक जस्तो लाग्दैन ।’