काठमाण्डु, १८ असार– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
सोमबार मध्यराति काँग्रेससँग सत्ता गठबन्धनको सहमति गरेका ओली मंगलबार बिहानै बालुवाटार गएका थिए ।
ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने सहमति दुई दलबीच भएकाले त्यसलाई समर्थन गर्न आग्रह गरेका थिए ।
उनले आफूहरुबीच सत्ता भागबण्डासँगै सविधान संशोधनको सहमति भएको समेत बताए । आफूलाई प्रधानमन्त्रीमा सघाउन आग्रह गरेका ओलीले आफूहरुबीच संघ र प्रदेश सबैतिर भागबण्डा टुंगिएकाले माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन भने नसकिने बताए ।
‘मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन काँग्रेस तयार भयो’, ओलीको भनाइ उद्धृत गर्दै बालुवाटार श्रोतले भन्यो, ‘संघ र प्रदेशमा सबै भागबण्डा टुंगिएकाले सरकारमा तपाईंलाई दिने कुरा चाहिं केही छैन ।’ श्रोतका अनुसार ओलीको भनाइलाई प्रचण्डले आफूलाई हेपेको रुपमा बुझेका छन् ।
जवाफमा प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको र बैठकको निर्णयअनुसार अघि बढ्ने उल्लेख गरे ।