एमाले अध्यक्ष ओली प्रधानमन्त्री !

काठमाण्डु टुडे २०८१ असार १८ गते ७:२५ मा प्रकाशित

काठमाडौँ, १८ असार– एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्रीमा ओलीको यो चौथो इनिङ हो । प्रमुख दुई ठूला दल कांग्रेस र एमालेबीच सोमबार मध्याराति सत्ता गठबन्धन गर्ने सहमति भएको थियो ।

सहमतिलाई अन्तिम रुप दिनुअघि काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसहित दुई दलका शीर्ष नेताले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतलनिवासमा भेटेर सहमतिबारे जानकारी गराएका थिए ।

दुई दलबीच सत्ता गठबन्धनसँगै निर्वाचन प्रणालीमा परिवर्तन, प्रदेश र राष्ट्रियसभाको गठन लगायत विषयमा संविधान संशोधन गर्ने सहमति भएको छ । संविधान संशोधनका लागि एक पूर्वन्यायाधीश नेतृत्वमा संविधान सुझाव उच्चस्तरीय समिति गठन हुनेछ ।

प्रतिनिधिसभाको बाँकी कार्यकालमध्ये पहिलो चरणमा आधा अवधि ओली र पछिल्लो अवधिमा चुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन् ।

सहमति निर्माणका लागि एमालेबाट शंकर पोखरेल र रमेश बडाल, तथा काँग्रेसबाट रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की संलग्न थिए । सहमतिलाई अन्तिम रुप दिन उनीहरु आइतबारदेखि ललितपुरको झम्सीखेलस्थित एक होटलमा बसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us