सीआईबीको निष्कर्ष: ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

काठमाण्डु टुडे २०८१ असार १७ गते १४:०८ मा प्रकाशित

काठमाण्डु, १७ असार– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालमा विभिन्न डमी कम्पनीहरूमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको अवैध सुन चोरी पैठारी भएको जानकारी दिएको छ ।

नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाण्डु समेतका प्रतिनिधि रहेको विज्ञ टोलीको प्रतिवेदनबाट यो तथ्य सार्वजनिक गरेको हो ।

अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेका ७ वटा विभिन्न डमी कम्पनीहरू मध्ये ५ वटा डमी कम्पनीबाट विभिन्न इलेकट्रोनिक मालवस्तु तथा ब्रेक सुमा गरी कुल ३ हजार १९४।६६८ के।जी अवैध सुन चोरी पैठारी गरेको देखिएको छ प्रतिवेदनमा उल्लेख गरीएको छ ।

यसको मूल्य करिब ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ हुने ब्युरोको जानकारी दिएको छ । ब्युरोले सोमबार अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नेपाल राष्ट्र बैङ्क ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्ते थप अनुसन्धान सम्बन्धमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा २०८० साउन २ गते अवैध सुन ६० किलो ७१६ ग्राम बरामद भएपश्चात् राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हर्कराज राई समेत अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधतर्फ अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us