सरकारी गाडीले नै मिच्यो ट्राफिक नियम

काठमाण्डु टुडे २०८१ असार १६ गते १९:२३ मा प्रकाशित

काठमाण्डु, १६ असार– सरकारी नम्बर प्लेटको गाडीले नै ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

महानगर ट्राफिक प्रहरी डिभिजनले सरकारी नम्बर प्लेटको सवारीलाई कारबाही गरेको जनाएको छ । आफ्नो फेसबुक पेजमार्फत डिभिजनले कारबाही गरेको दाबी गरेको छ ।

सामाजिक सञ्जालमा बा १ झ ७६७५ नम्बरको सरकारी सवारीले ट्राफिक नियम मिचेर अर्को लेनमा क्रस गरेको भिडियो भाइरल भएको थियो ।

यसबारे सामाजिक सञ्जालमा चौतर्फी दबाब र गुनासो आएपछि कारबाही गरेको ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

तर, कारबाही गरिएको आधिकारिक प्रमाण भने सामाजिक सञ्जालमा राखिएको छैन । ट्राफिक प्रहरीले सामाजिक सञ्जालमा लेखेको छ, ‘ट्राफिक प्रहरी कार्यालय रामशहपथबाट खोजतलास र अनुसन्धान गरेर उक्त सवारी साधनलाई फेला पारी सवारीका चालकलाई लेन अनुशासन विपरीत सवारी चलाएको कसुरमा कारबाही गरिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us