म गतिशील हुँ, अस्थिर होइनः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८१ असार १६ गते १९:०७ मा प्रकाशित

काठमाण्डु, १६ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाललाई आफू नजिकको नेता मान्न्छन् ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई नजिकको शक्ति मान्छ । तर त्यही एकीकृत समाजवादीले आफूलाई अस्थिर भनेको भनेपछि प्रचण्डले चित्त दुखाएका छन् । आज आइतबारदेखि सुरु भएको एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहकै पुगेर प्रधानमन्त्रीले पुनर्विचार गर्न समेत आग्रह गरेका छन ।

काठमाण्डुको कमलादी स्थित भएको उद्घाटन समारोहमा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथिको रुपमा निम्याएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेक सबैजसो दलका शीर्ष नेताहरु उपस्थित उद्घाटन समारोहमा प्रचण्डले माधवकुमार नेपालको खुलेर प्रशंसा गरेका थिए ।

पञ्चायतविरोधी आन्दोलन भइरहेका बेला एमालेका जल्दोबल्दो नेता रहेका नेता नेपालसँग आफ्नो असाध्यै धेरै अन्तर्क्रिया भएको स्मरण गरेका उनले भने, ‘जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्नका निम्ति एमालेका नेताका रुपमा कमरेड माधव नेपाल र अन्यसँग मेरो लगातार छलफल भइराख्यो ।’

पछिल्लो चरण संविधानको रक्षाका लागि नेता नेपाल र आफूले सामूहिक भूमिका खेलेको उनले बताए । अहिले पनि समाजवादी मोर्चा सँगै रहेको र कम्युनिस्ट आन्दोलनको एकताको उद्देश्यमा पनि समान धारणा रहेको भन्दै प्रचण्डले एउटै पार्टी बनाउने दिशामा महाधिवेशनले ठोस निर्णय गरोस् भनेर आग्रह गरे ।तर एकीकृत समाजवादीले आफ्नो राजनीतिक दस्तावेजमा नजिक, तर अस्थिर भनेको उल्लेख गरे ।

‘त्यो भन्ने अधिकारमा म प्रश्न उठाउन चाहन्न’ हरेक पार्टीले अर्को पार्टीलाई हेर्ने दृष्टिकोण आफ्नो बनाउन जरुरी रहेको भन्दै उनले भने, तपाईंहरुलाई जे बनाउन उचित लाग्छ, बनाउनुस् ।’ तर म यति भन्छु भन्दै प्रचण्डले अगाडि भने, ‘आज नेपाल संविधान सभामा गयो । संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो ।

शान्ति प्रक्रिया भयो । समृद्धिको अलि नयाँ अभियान चलेको छ । प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैन थियो ।’प्रचण्ड ‘अस्थिर’ नभएको भए जनयुद्ध, शान्ति प्रक्रिया केही नहुने भन्दै उनले प्रश्न गरे, भने, गतिशीलता भनेको के हो ? द्वन्द्वात्मक भौतिकवाद, हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ, प्रक्रियामा हुन्छ भनेको के हो ? जमेको पानीको पोखरी जस्तो हो कि गड्गडाउँदो नदी जस्तो भएर हुर्रिने मार्क्सवाद हो ?’

प्रचण्ड आफैंले जवाफ दिए । अरुले अस्थिर भनेको आफ्नो गतिशीलता नै सही भएको जिकिर गर्दै उनले भने, ‘मार्क्सवाद जमेको पोखरीजस्तो होइन । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार निष्कर्ष निकाल्नु मार्क्सवाद हो ।’ माओवादी आन्दोलनमा एक ठाउँमा बस्ने भन्ने नहुने भन्दै उनले आफूहरु दौडिरहने बताए ।

त्यसरी दौडिदा आफूलाई अस्थिर भनेकामा प्रचण्डले प्रतिवाद गरे, ‘यो दौडाइबाट नेपाली समाज अगाडि बढ्यो, सामन्ती निरंकुशतन्त्रबाट देश गणतन्त्रमा गयो भने त्यो गतिशीलता हो, अस्थिरता होइन । युद्धबाट देश शान्तिमा आयो भने त्यो गतिशीलता हो, अस्थिरता र अराजकता होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us