काठमाण्डु, १६ असार– नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन काठमाण्डुको कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष माधवकुमार नेपालले रिमोर्ट थिचेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका छन् ।
त्यस्तै अतिथिका रूपमा रास्वपाका अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, लोसपाका सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्लालगायतको सहभागिता रहेपनि एमालेबाट भने कोही पनि नेता सहभागी भएका छैनन् ।
असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न महाधिवेशनमा आवश्यक दस्ताबेज प्रस्तुत गरिने छ ।
ती दस्ताबेज कम्युनिस्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्त्वपूर्ण हुने पार्टी नेताहरूको भनाइ छ । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग सहभागी हुँदैछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् ।
महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरेको पार्टीले जनाएको छ ।
