रौतहटमा बस दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते

काठमाण्डु टुडे २०८१ असार १५ गते १५:४० मा प्रकाशित

काठमाण्डु, १५ असार– रौतहटमा बस दुर्घटना हुँदा  १ जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन । जिल्लाको सदरमुकाम गौर चन्दरनिगाहपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै बस दुर्घटनामा परेको प्रहरीले जनाकारी दिएको छ ।

मृत्यु हुनेमा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्रकुमार गिरीकी १८ बर्षिया छोरी नेहाकुमारी गिरीको रहेको प्रहरीले जनाएको छ ।

गौरबाट भैरहवातर्फ गइरहेको ना ७ ख ८४१४ नम्बरको बस जयनगर चोकमा शनिवार बिहान ८ बजे अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ ।दुर्घटनामा २६ वर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको र उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएकी छन ।

अन्य सात घाइतेहरूको शिवनगर र गरुडामा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us