काठमाण्डु, १४ असार– एमाले अध्यक्ष केपी ओलीले एमाले ध्वस्त बनाउने प्रयास भएको बताएका छन् ।
मदन भण्डारी फाउन्डेसनले शुक्रबार गरेको कार्यक्रममा ओलीले देश बनाउन खोज्दा एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको बताए । ओलीले राष्ट्रिय शक्तिलाई एक बनाउन एमाले सक्रिय रहेको उनको भनाइ थियो । राष्ट्रिय र गैरराष्ट्रिय राजनीतिक शक्तिबीच प्रतिस्पर्धाको चलिरहेको उनले जनाए ।
‘अहिले हामी राष्ट्रिय शक्तिलाई निर्णायक ठाउँमा पुर्याउने अवस्थामा पुगेका छौँ’, ओलीले भने, ‘शक्ति सन्तुलनको स्थिति सधैँ यस्तै रहन सक्दैन ।’ दुईतिर बलिया देश रहेको र उनीहरुको प्रतिस्र्धामा नेपाल सहभागी हुन नहुने ओलीले बताए ।
‘ठूला र बलिया देशका प्रतिस्पर्धाका बीचमा हामी पस्नु हुँदैन’, उनले भने, ‘बलियाले प्रतिस्पर्धा गर्छन् । ग्लोबल कम्पिटिसनको म्याराथनमा हामी छैनौँ । हामी इकोनोमिक डेभलप्मेन्टको म्याराथनमा पनि छैनौँ । हामीलाई निर्विवाद शान्ति चाहिन्छ । कसैको प्रतिस्पर्धाले हामीलाई घच्चपच्च हुनुभएन। अरूको टकराबको झिल्काले हाम्रो घर डढ्नुभएन ।’
उनले भू-राजनीति देशको राष्ट्रिय स्वार्थ कमजोर बनाउन प्रयोग गर्न नहुने बताए ।