पृथ्वीसुब्बा गुरुङको आरोपः प्रहरीलाई पंगु बनाइयो, सेना गणतन्त्रमैत्री भएन

काठमाण्डु टुडे २०८१ असार १४ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, १४ असार– एमाले सांसद पृथ्वीसुब्बा गुरूङले प्रहरी संगठनलाई पंगु बनाइएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीतिक दल र नेताहरूले प्रहरीलाई पंगु बनाएको टिप्पणी गरे ।

प्रहरी राजनीतिकरण, पार्टीकरण, गुटकरण र व्यक्तिकरणसम्मको शिकार भएको बताए । हस्तक्षेपका कारण प्रहरीले स्वतन्त्र ढंगले काम गर्ने परिस्थति नरहेको तथा आफ्नो औचित्य, सान्दर्भिकता र श्रेष्ठता प्रदर्शन गर्न नसकेको गुरुङको भनाइ थियो । ‘प्रहरीले स्वतन्त्र ढंगले काम गर्ने परिस्थिति बनेको छैन । किन भने पुलिस ध्वस्त बनाएका छौं,’ उनले भने ।

गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रले प्रतिफल पाउनका लागि प्रहरीको लोकतान्त्रिकरण जरुरी रहेको औंल्याए । भ्रष्टाचार र अपराध नियन्त्रण तथा सुशासनबारे जति कुरा गरे पनि प्रहरी उजुरी लिनै नसक्ने अवस्थामा रहेको बताए ।

प्रहरीले नेता, मन्त्री र सांसदहरूसँग सोधेर मात्र जाहेरी लिने या नलिने भन्नेबारे निर्णय गर्ने गरेको भन्दै उनले यो अवस्थाबाट प्रहरीलाई मुक्त गर्न नसकिए सुशासन र शान्ति सुव्यवस्था कायम हुन नसक्ने जिकिर गरे ।

फरक प्रसंगमा उनले शान्ति कार्यमार्फत विश्वमा ख्याती कमाएको नेपाली सेनालाई समेत संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउन नसकिएको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us