काठमाण्डु, १४ असार– जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले ‘सिधा कुरा डटकम’ अनलाइन र युट्युब च्यानलका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध ‘डार्क फाइल’ प्रकरणमा साइबर अपराधमा मुद्दा दायर गरेको छ ।
सरकारी वकिल कार्यालय काठमाण्डुले सिधाकुरा डटकमका अध्यक्ष युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सिनाविरूद्ध शुक्रबार क्राइम र अपमानजनक व्यवहारसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।
सिधाकुराले अडिओसहित प्रकाशन गरेको समाचार कपोलकल्पित र झुठो भन्दै तीनै जनालाई फरार प्रतिवादी करार गरी मुद्दा दायर भएको छ । सर्वोच्च अदालतको आदेशमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्यसबारे छानबिन गरेको थियो ।
सिबाइबीले उनीहरु तीनजनासहित डार्क फाइलमा संलग्न भनिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण मिडियाका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, अधिवक्ता किशोरकुमार विष्ट, प्रहरी उपरीक्षक संजयसिंह थापा र पत्रकार सुरेन्द्र काफ्लेसँग सिआइबीले घटना विवरण कागज गराएको थियो ।
सिआईबी अनुसन्बाटबाट उक्त अडियो नक्कली भएको पुष्टि भएको थियो ।