काठमाण्डु, १३ असार– पूर्व मन्त्री एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन ।
आज (बिहीबार) प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद बाँस्कोटाले यस्तो बताएका हुन । उनले सरकारले दुग्ध किसानहरूको करिब एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको बताए ।
उनले दुग्ध किसानको ५ अर्ब बढीको रकम भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन । उनले दुग्ध किसानहरूले न्याय पाउनको लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर, गाई भैँसी सडकमा छोड्नुपर्ने हो रु भन्दै प्रश्न गरेका छन ।
उनले वर्तमान सरकार दुग्ध लगायत अन्य किसानहरूलाई समेत रुवाएर आफू हाँसेर बस्न नसुहाउने बताएका छन । बाँस्कोटाले जनताको सरकार भएपछि जनताप्रति जबाफदेही हुनुपर्ने बताएका छन ।
उनले निजी क्षेत्र व्यापार र नाफामा मात्रै लिप्त हुँदा जबाफदेहिता नभएको पनि बताएका छन । लम्पी स्किनलाई लिएर अर्बौंको क्षति हुँदा समेत किसानहरूले बीमाको रकम लगायत गाईको मूल्य नपाएको समेत बाँस्कोटाले बताएका छन ।