काठमाण्डु, ११ असार– ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–३ घर भई काठमाण्डुको अनामनगर बस्दै आएका २४ वर्षीय तेजनारायण चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा चौधरीलाई ८ असार दिउँसो साढे ५ बजेतिर अरिंगालले टोकेको थियो । अरिंगालको टोकाइबाट घाइते भएका चौधरीलाई उनका दाइ हरिनारायणले उपचारका लागि काठमाण्डुको मोडल अस्पताल पुर्याएका थिए ।
उपचारकै क्रममा आज मंगलबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका छन । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको पनि उनले जानकारी दिएका छन ।