कोशी सरकारविरुद्धको मुद्दामा बहस सकियो

काठमाण्डु टुडे २०८१ असार ११ गते १४:१९ मा प्रकाशित

काठमाण्डु, ११ असार– कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अन्तिम बहस सकिएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा आज मंगलबार बहस सकिएको हो ।

अहिले न्यायाधीशहरु फैसला सुनाउनका लागि लेखनमा जुटेको र सम्भवतः आजै यो मुद्दामा फैसला आउने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । सर्वोच्चले सोमबार नै सुनुवाइ सक्ने भनेपनि कानुन व्यवसायीहरूले बहसका लागि थप समय माग गरेपछि अन्तिम समयमा मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा जेठ ३१ गतेदेखि सुनुवाइ हुँदै आएको थियो । पहिलो दिन कार्कीका तर्फबाट बहस भएको थियो भने दोस्रो पेशीको दिन (असार १० गते) मुख्यमन्त्री हिक्मत बहादुर कार्कीका तर्फबाट बहस भएको थियो ।

सोमबार सरकारी वकिलहरूले पनि मुख्यमन्त्रीको बचाउमा बहस गरेका थिए । कार्कीलाई हटाएर प्रदेश प्रमुखले हिक्मत कार्कीलाई मुख्यम्नत्रीमा नियुक्त गरेपछि कार्की अदालत पुगेका थिए । कार्कीले आफ्नो रिटमा विभिनच तर्क पेश गरेका छन् जसलाई टेकेर आफ्नो पुनर्स्थापना हुनुपर्ने भनिएको छ ।

कार्कीले २०८० भदौ २१ गतेको न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले गरेको फैसलालाई पनि आधार लिएका छन् । उनले उक्त फैसलाको बुँदा नम्बर २६ मा सरकार गठनका लागि पटक पटक एउटै धारा प्रयोग गर्न नमिल्ने भनिएकाले आफूलाई हटाएर पुनः उपधारा ५ कै सरकारको रूपमा शपथ गराउनु असंवैधानिक र उक्त आदेश विपरीत हुने तर्क समेत गरेका छन ।

कोशी प्रदेशको सरकार अब कसको हुने छ भन्नेमा सर्वोच्चले आज सुनाउने फैसलामा निर्भर हुने देखिन्छ । सर्वोच्चले रिट जारी हुने फैसला सुनाएमा मुख्यमन्त्रीको रूपमा केदार कार्की फर्कने छन् भने रिट खारेज हुने फैसला भएमा वर्तमान मुख्यमन्त्री कार्कीले नै निरन्तरता पाउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us