फणीन्द्र देवकोटाले दायर गरेको रिटमाथिको बहस सकियो

काठमाण्डु टुडे २०८१ असार १० गते १३:११ मा प्रकाशित

काठमाण्डु, १० असार– गण्डकी प्रदेशका कारबाहीमा परि पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमाथिको बहस आज सोमबार सकिएको छ । देवकोटाको मुद्दामा धेरै कानुन व्यवसायी बहसका लागि बाँकी रहेकाले आइतबार हेर्दाहेर्दैमा राखिएको बहस आज सकिएको हो ।

उनको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो । सुनुवाइ सकिएसँगै यसबारे आजै फैसला आउने भएको छ । देवकोटाले असार ६ गते आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै रिट दर्ता गराएको थिए ।

आइतबार चौथो नम्बरमा पेसी तोकिएको उक्त मुद्दामा ढिलो मात्र बहस सुरु भएको थियो । देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेको थियो । गोरखा– २ बाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले भने आफूलाई स्वतन्त्र सांसद भन्दै आएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टीमा आफू आबद्ध भएकाले स्वतन्त्र सांसदको रूपमा रहेको भन्दै उनले माओवादीले गरेको कारबाही गैरकानुनी भएको जिकिर गरेका छन् ।

उनले रिटमा गण्डकी प्रदेशसभाका सभामुख, गण्डकी प्रदेशसभा, माओवादी केन्द्र, माओवादी केन्द्र गण्डकी प्रदेशसभाका संसदीय दलका नेता हरिबहादुर चुमान लगायतलाई विपक्षी बनाएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पाण्डेलाई मत नदिनु भनी आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको थियो ।

उक्त ह्विप उल्लङ्घन गरेको आरोपमा उनीमाथि कारबाहीको सिफारिस माओवादीले गरेको थियो । माओवादीको सिफारिसपछि सभामुख कृष्णप्रसाद धितालले उनीमाथि भएको कारबाही प्रदेशसभामा पढेर सुनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us