काठमाण्डु, ९ असार– मन्त्रिपरिषद् बैठकबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका मानवअधिकारकर्मी समेत रहेका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन ।
प्याकुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्रनै लेखेर आफूलाई दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिन आग्रह गर्ने तयारी गरेका छन ।
एमालेको कोटाबाट सिफारिस उनले एमालेलाई पनि यसबारे जानकारी गराइसकेको स्रोतले जानकारी दिएको छ । प्याकुरेलले आफूलाई राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क समेत नगरेको गुनासो व्यक्त गरेका छन ।
प्याकुरेलले निकटस्थसँग भनेका छन्, ‘मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केत समेत दिइएन’, ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु ।’ उनले यही बेहोराको पत्र प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
साथै, उनले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक भएको दाबी गरेका छन ।