काठमाण्डु, ९ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन ।
आज (आइतबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले सङ्घीय संसद् सचिवालयका कर्मचारीहरूको माग वार्ताबाट अविलम्ब सकारात्मक निष्कर्षका साथ समाधान गर्नुपर्ने पनि बताएका छन । सङ्घीय संसद् सचिवालयका कर्मचारीहरू केही दिन यता सेवा सुविधाको माग सहित आन्दोलनमा छन् ।
उनीहरुले ११ बुँदे मागसहित आन्दोलन गरिरहेका छन् । उनीहरुले संसद् सेवाको कर्मचारीहरूमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर संसद् भवन परिसरमै विरोध गरेका थिए ।