काठमाण्डु, ८ असार– पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्र का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको जानकारी दिएका छन ।
आज (शनिबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै माआवादी केन्द्रका प्रवक्ता समेत रहेका सापकोटाले यस्तो जानकारी दिएका हुन ।
उनले मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा बनाइ वृहत वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताएका छन । उनले कम्युनिष्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्दै अहिले बनेको नयाँ समीकरण हुँदै वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको बताएका छन ।
उनले वामपन्थी एकीकरणले सरकार र देश चल्दैन भन्ने टिप्पणी आइरहेको भन्दै उक्त विचार पूर्ण रुपमा खारेज गर्नुपर्ने पनि बताएका छन ।
उनले नेपाली जनता वामपन्थीहरुलाई मन पराउने मात्रै नभइ फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहिरहेको पनि बताएका छन । सापकोटाले समाजवाद भनेको गरिबी नभइ सबैका लागि समृद्धि भएको बताएका छन ।