जेफ बेजोस पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बने

काठमाण्डु टुडे २०८१ असार ३ गते १५:१५ मा प्रकाशित

एजेन्सी– अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजन डट कमका हाकिम जेफ बेजोस पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन ।

अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियलटाइम बिलेनियर्स इन्डेक्सका अनुसार २ खर्ब ६ अर्ब डलर नेटवर्थसहित उनी विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन ।

गएको २४ घण्टामा उनको सम्पत्ति २० करोड ९० लाख डलरले घटेको भए पनि उनी शीर्ष स्थानमा उक्लिएका सफल भएका हुन । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई उछिनेर बेजोस शीर्ष स्थानमा उक्लिन सफल भएका हुन ।

सूचीको दोस्रो स्थानमा रहेका मस्कको नेटवर्थ २ खर्ब ३ अर्ब डलर रहेको छ । गएको २४ घण्टामा उनको नेटवर्थ ३ अर्ब १९ करोड डलरले घटेको छ ।

१ खर्ब ९८ अर्ब डलरसहित फ्रान्सेली लक्जरी टाइकुन बर्नर्ड आर्नो तेस्रो स्थानमा रहेका छन । सामाजिक सञ्जाल कम्पनी फेसबुकका मालिक मार्क जुकरबर्ग सूचीको चौथो स्थानमा छन् ।

उनको नेटवर्थ १ खर्ब ७९ अर्ब डलर छ । शीर्ष पाँचमा रहेका अर्बपतिहरूमध्ये पाँचौं स्थानमा रहेका ल्यारी पेजको मात्रै नेटवर्थ गएको २४ घण्टाको कारोबारमा बढेको छ । पेजको नेटवर्थ सो अवधिमा १ अर्ब २२ करोड डलरले बढेर १ खर्ब ५७ अर्ब डलरमा उक्लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us