काठमाण्डुको गर्मी ३५ वर्षयताकै उच्च

काठमाण्डु टुडे २०८१ असार २ गते १४:०७ मा प्रकाशित

काठमाण्डु, २ असार– काठमाण्डुको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । आज शनिबार काठमाण्डुको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड गरीएको हो ।

काठमाण्डुको ०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘१९८९ मे ७ पछि हिजो (असार १ गते) उच्च गर्मीको रेकर्ड रह्यो ।’ जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार विगत विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाण्डुको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो ।

तर त्यो सरदर अधिकतम तापक्रमको रेकर्ड गत वर्षदेखि नै तोडिँदै गएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको रेकर्ड राख्न थालिएको वर्ष सन् १९६८ देखि सन् २०२० सम्मको अवधिको अधिकतम तापक्रम ०.०५ डिग्री सेल्सियसले बढेको छ ।

जुन महिनाको मात्रै सबैभन्दा ताता दिनहरुको ट्रेण्ड ०.०५ डिग्री सेल्सियसले बढेको छ । मे र जुन महिना सबैभन्दा गर्मी महिनाका रुपमा चिनिन्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा यस वर्षको जुन ८, ९ र १० तारिख अर्थात् जेठ २६, २७ र २८ गते अधिकतम तापक्रम क्रमशः ३१।९, ३३।८ र ३४।४ डिग्री सेल्सियस रेकर्ड कायम गरीएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us