विरोधीहरूले केपी ओलीले ५ अर्ब खाइसक्यो, निलिसक्यो भनेर भ्रमको तुवाँलो फैलाइरहेछन्: केपी ओली

काठमाण्डु टुडे २०८१ असार १ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, १ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले एमालेप्रति जनताको आस्था, विश्वास कसरी घटाउन सकिन्छ भनेर भ्रमको तुवाँलो फैलाउने काम गरिरहेको दाबी गरेका छन ।

आज (शनिबार) दिउँसो नयाँ बानेश्वरमा भएको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले प्रतिक्रियावादी शक्तिले अकल्पनीय कुराहरू आविष्कार गरेर दिनहुँ भ्रम फैलाउने काम गरेको बताएका छन । उनले भने, ‘प्रतिक्रियावादी शक्तिहरू जस्तो विचारशून्य, नीतिशून्य, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर, ती थैलाहरू भर्नका लागि असभ्य, अमर्यादित, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने त्यस्ता खालका भ्रमका तुवाँलाहरू फैलाउने खालका विपरीत क्रियाकलापहरूमा हामी लाग्दैनौँ ।’

उनले त्यस्ता भ्रमको खण्डन गर्न निर्देशन दिए । पार्टी विरुद्ध हमला अत्यन्तै तीव्र रहेको र दिनैपिच्छे नयाँ नयाँ अकल्पनीय कुराहरू आविष्कार गरेर बजारमा फैलाइरहेको पनि बताएका छन । उनले भने, आज बिहान पनि मैले एउटा मिडियामा देखेको थिएँ, ५ अर्ब केपी ओलीले खाइसक्यो, निलिसक्यो कि, मुखमा मात्र हाल्न ठिक्क पारेको छ, ४ अरब कि ५ अरब केपी ओलीले खायो भनेर ।

हाम्रा विरोधीहरू, प्रतिक्रियावादीहरू जो देश अगाडि नबढोस् भन्ने चाहन्छन्, राष्ट्रिय शक्तिलाई कमजोर बनाउन चाहन्छन् उनीहरूको अर्को कुनै उपाय छैन ।’ उनले अगाडि भने–‘भ्रमको जालो फिँजाइदिने, आस्था कसरी घटाउन सकिन्छ, जनताको विश्वास कसरी कमजोर बनाउन सकिन्छ, एमाले प्रतिको विश्वास कसरी घटाउन सकिन्छ रु त्यो भइरहेको छ ।

कतिपय मान्छे देश बुझ्दैनन्, भात मात्रै बुझ्छन् । भात भए देश जेसुकै होस भन्ने ठान्छन् । तिनीहरूमा सोच पुर्‍याउने काम पनि हाम्रो हो । देश भन्ने कुरा उनीहरूको दिमागमा राखिदिने काम पनि हामीले नै गर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us