काठमाण्डु, १ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको समयमा भन्दा अहिले गरिबी बढेको दाबी गरेका छन । उनले तीन वर्षअघिको सरकारले गरिबीको रेखामुनि रहेकाहरुको संख्या १७ प्रतिशतमा झारेकामा अहिले बढेर २०.२६ प्रतिशत पुगेको बताएका छन । अध्यक्ष ओलीले आज (शनिबार) पार्टीको संसदीय दलको बैठकमा बोल्दै यस्तो बताएका हुन ।
उनले भने, ‘यो निरपेक्ष गरिबीको रेखामुनि भन्ने कुरा जुन छ, यसलाई ५/७ वर्षभित्र समाप्त गर्न सकिन्छ, धेरै समय लाग्ने विषय होइन, तर यो चालु छ, हामीले घटाएर ९/१० लाख जनतलाई निरपेक्ष गरिबीको रेखाबाट माथि उठाएर १७ प्रतिशतमा झोरेका थियौं, ३ वर्षमा बढेर २०. २६ प्रतिशत पुगेको छ ।’
यति धेरै विकासका पूर्वाधार निर्माणका बाबजुद गरिबी बढिरहेको भन्दै ओलीले उद्यमशीलता विकास गर्न नसके पूर्वाधारले खर्च मात्र बढाउने पनि उनले बताएका छन । उनले भने, ‘पूर्वाधारको सही सदुपयोग गर्न सकिएन भने पूर्वाधार नै विकास होइन, त्यस पूर्वाधारलाई प्रयोग गरेर विकासका कामलाई अगाडि बढाइनुपर्छ ।
विकास अगाडि बढाइएन भने पूर्वाधारले खर्च बढाउँछ, उत्पादकत्व बढाइएन भने पूर्वाधारहरुले गरिबी बढाउन पनि सक्छ’ । उनले उद्यमशीलताको विकास गरेर उत्पादकत्व बढाउनैपर्ने भन्दै त्यसको बाटो मुलुकको बजेट भएको पनि बताएका छन ।
त्यसैले संसदमा एक–दुई जनाको मुख हेरेर बजेटमाथिको छलफललाई कमजोर नबनाउन उनले सांसदहरुलाई आग्रह गरेका छन । उनले भने, ‘एक–दुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भनेर गरिबीतिर गए पनि के भो र देश हामी सरकारमा छदैछौं भनेर हुन्छ ?’, ओलीले प्रश्न गरे, ‘हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर देशलाई विकासतर्फ अगाडि बढाउन हामी सरकारमा गएको हो, त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?’