काठमाण्डु, ३२ जेठ– कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न सरकारसँग माग गरेका छन ।
आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले यस्तो माग गरेका हुन । उनले विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औँ स्थानमा रहेको भन्दै जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न आग्रह गरेका छन ।
उनले विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र चार लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको पनि बताएका छन ।
उनले भने, ‘कर्णप्रिय नारा र निर्देशनमा अल्मलिएको छ । सरकारले विपद् जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गरोस् ।’
उनले भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी पहिरो, चट्याङले ठुलो क्षति पुर्याएको पनि बताएका छन । आगलागीबाट प्रत्येक वर्ष दुई अर्बभन्दा बढीको नोक्सानी र सयौँ नेपालीले ज्यान गुमाउनुपरेको पनि उनले बताएका छन ।