काठमाण्डु, ३२ जेठ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले आगामी वर्ष कम्तीमा १६ लाख पर्यटक भित्र्याउने दाबी गरेका छन ।
आज शुक्रबारदेखि काठमाण्डुको भृकुटीमण्डपमा सुरु भएको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको उद्घाटन गर्दै मन्त्री तामाङले यस्तो दाबी गरेका हुन ।
उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्दै १६ लाखको लक्ष्य पुरा गरिछाड्ने पनि बताएका छन । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङले जानकारी दिएका छन ।
सरकारले यस क्षेत्रको विकासको लागि पहिले लगाउँदै आएको हवाई टिकटको भ्याट र अन्य अनावश्यक कर हटाउने काम समेत भइरहेको जानकारी दिएका हुन ।
यसको समाधान बजेट पास हुनुअघिनै गरिने जानकारी समेत मन्त्री तामाङले दिएका हुन । पर्यटन क्षेत्रले बेहोरिरहेको समस्या समाधान गर्न सरकार लागि परिरहेको पनि उनले बताएका छन ।
पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागि परेको र सम्बोधन हुने पनि उनले प्रस्ट पारे ।
विश्व पर्यटन बजारमा नेपाल घुम्नैपर्ने सुचीमा पर्ने हुँदा अब पुरानो गन्तव्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तव्यमा पूर्वाधार निर्माणको काम सरकारले सुरु गरिसकेको उनले बताएका छन ।
उनले प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक सङ्ख्यामा अझ बढोत्तरी गर्ने लक्ष्य सरकारको रहेको बताएका छन ।