कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाण्डु टुडे २०८१ जेठ ३१ गते १८:४८ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– कोशी प्रदेश सरकारविरुद्ध कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेस नेता केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको छ ।

अब यो मुद्दामा ९ असारमा सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले बिहीबारको सुनुवाइपछि रिटलाई हेर्दाहेर्दैमा राखेको हो । अदालतका न्यायाधीश बिदामा हुने भएकाले अब अर्को सुनुवाइ ९ असारमा मात्र हुने बताइएको छ ।

आज बिहीबारको सुनुवाइमा निवेदक केदार कार्कीको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्री कार्की, यदु खनाल, ललित बस्नेत, अपूर्व खतिवडालगायतले बहस गरेका थिए ।

केदार कार्कीको पक्षमा बहसका लागि १२ जनाले वकालतनामा भरेका छन् । इजलासले दुवै तर्फका कानुन व्यवसायीलाई बहस नोट बुझाउन पनि आदेश गरेको पूर्वमुख्यमन्त्री केदार कार्कीका प्रेस सल्लाहकार देवनारायण साहले जानकारी दिएका छन ।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई २६ वशाखमा स्वत पदमुक्त गर्दै सोही उपधारा अनुसार २७ वैशाखमा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नयाँ सरकार गठनका विरुद्ध २७ बैशाखमा नै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us