काठमाण्डु, ३१ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नभएको बताएका छन ।
आज (बिहीबार) एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
उनले भने, ‘फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई पार्टीभित्र ठाउँ छैन, ‘आन्तरिक सङ्घर्षका लागि ठाउँ छैन छलफल र विचार विमर्श गर्नलाई ठाउँ छ ।’
भित्री पार्टी सङ्घर्ष भन्ने कुरा गलत भएको भन्दै उनले भित्री पार्टी छलफल भन्नुपर्ने पनि बताएका छन । अध्यक्ष ओलीले मिसन ८४ यतिकै नभनेको भन्दै देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउन खोजेको पनि बताएका छन । पार्टीभित्र एकताबद्धता पहिलो रोजाई हुनुपर्ने ओलीको कार्यकर्तालाई सुझाव छ । उनले भने, ‘हाम्रो एकताकै कारण पार्टी सिद्ध्याउँछु भन्नेहरू असफल भएका हुन् ।
हाम्रो सुझबुझ र सचेत एकताले हो नै उनीहरू असफल भएका हुन्’ । पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाए मात्रै विपक्षीहरूसँग प्रतिस्पर्धा गर्न सकिने भन्दै ओलीले एमालेलाई निर्णायक शक्ति बन्न नदिन एकपछि अर्को मिथ्या आरोप लाग्ने गरेको बताएका छन ।