जब अमरेशकुमार रोस्टममै मौन बसे…

काठमाण्डु टुडे २०८१ जेठ ३१ गते १६:४८ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले विनियोजन विधेयक माथिको छलफलमा स्वास्थ्यमन्त्री सदनमा नदेखेपछि रोष्टममा उभिएर मन्त्रीको खोजी गर्दै रोष्टममानै मौन बसेका छन् ।

सिंहले अर्थ मन्त्रालय नेपालीको नभई विदेशीको एजेन्टजस्तो बनेको आरोप लगाएका छन । आज बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव पेश गर्न संसद्को रोष्टममा पुगेका सांसद सिंहले स्वास्थ्यमन्त्रीलाई नदेखेपछि केही समय रोस्टममा उभिएरै छलफल रोक्न सभामुखसँग माग गरेका थिए ।

त्यसअघि संसद् देखावटी मात्र भएको बताएका उनले मन्त्रीहरूले सांसदले मागेको प्रश्नको जवाफ नदिने गरेकोप्रति चित्त दुखाएका छन । उनले भने, ‘यहाँ छलफल भइरहेको छ, स्वास्थ्य मन्त्रीज्यू हुनुहुन्न । म प्रश्न गर्न चाहन्छु ।

स्वास्थ्यमन्त्री मलाई चाहिन्छ । नत्र म यही उभिइरहन्छु’ । त्यसपछि सभामुख देवराज घिमिरेले एक छिन रोस्टममै रोकिन सिंहलाई आग्रह गरे । ‘माननीयजी एक छिन रोकिनुहोला, स्वास्थ्यमन्त्रीजी केहीबेर अघि यही हुनुहुन्थ्यो दिसा–पिसाबका लागि बाहिर जानु भएको हुनसक्छ ।

यही कतै हुनुहुन्छ । उहाँ नआउन्जेल माननीयजीहरू एक छिन धैर्यतासाथ रहनुहोला,’ सभामुख घिमिरेले मुस्कुराउँदै भने । ४० सेकेन्ड बढी अमरेश रोष्टममा नै मौन बसेका थिए ।

स्वास्थ्यमन्त्री प्रदीप यादव संसद् बैठकमा प्रवेश गरेसँगै सभामुखले भने,‘मन्त्रीजी आउनुभयो, माननीयज्यू अगाडि बढ्नुहोस् ।’ त्यसपछि छलफललाई अगाडि बढाएका सांसद सिंहले मधेस प्रदेशमा रेफरल अस्पताल नबनाएकोमा मन्त्री यादवलाई प्रश्न गरे ।

‘के कारणले मधेसमा रेफरल अस्पताल छैन ?’ उनले मधेसमा काजमा परेका एमबीबीएस डाक्टरहरू काठमाण्डुमा नै बसिरहेको उल्लेख गर्दै उक्त समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us