
काठमाण्डु, ३१ जेठ– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूरानो मानसिकताबाट माथि उठेर आगामी आर्थिक वर्षको बजेट आउन नसकेको दाबी गरेको छ ।
आज (बिहीबार) बसेको प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै सांसद सापकोटाले यस्तो बताएका छन ।
उनले भने, ‘बजेट वितरणमा हामी पुरानो मानसिकताबाट माथि उठ्न सकेका छैनौं, ‘माथिबाट बजेट बाँड्न सक्दा मात्र निर्वाचन जित्न सकिन्छ भन्ने ह्याङओभरले काम गरिरहेको छ ।’ सांसदहरुले गर्ने टिप्पणी पनि वास्तविकता र गर्न सक्नेमा आधारित हुनुपर्ने उनले बताएका छन । समग्रतामा सुधार गर्नका लागि विधि चाहिने र विधिका लागि सबै जिम्मेवार हुनुपर्ने बताएका छन ।
उनले सांसदहरुलाई विधायककै रुपमा अगाडि बढाउनुपर्ने बताएका छन । भू–उपयोग नीतिको सम्बन्धमा तत्काल ठूलो सुधार गर्न नसकेतापनि सुधारको सुरुवात गर्न सकिने उनको राय रहेको छ ।
उनले भने, ‘आजको अवस्थामा उचित भू उपयोग नीति छैन् । यो भन्न जति सजिलो छ, काम गर्न त्यति गाह्रो छ । तर, सुधारका लागि प्रयास गर्ने केही न केही नीति बनाएर सुरुवात गर्न सक्छौं ।’
उनले खेतीयोग्य जमिनमा प्लटिङ भइरहेको उल्लेख गर्दै उनले यस्तो कार्यमा राज्यको ध्यान पुग्नुपर्ने बताएका छन । उनले गुठीको विषयका म्बन्धमा पनि राज्यले ठोस नीति लिनुपर्ने बताएका छन ।