
काठमाण्डु, ३१ जेठ– राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हिम्मतको साथ काम गर्न आग्रह गरेका छन ।
राप्रपा सचेतक शाहीले भूमिको वर्गीकरण गर्न र वर्गीकरण अनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिनुपर्ने बताएका छन । अन्यथा मुलुक बन्न नसक्ने सांसद शाही बताउँछन् ।
आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले खानीयोग्य, औद्योगिक, कृषियोग्य र बसोबासको जमिन छुट्याउन आवश्यक रहेको बताए । यसका लागि सरकारले कठोर निर्णय लिएर अगाडि बढ्न सुझाव दिएका छन ।
उनले भने, ‘अप्रिय निर्णय गरिदिनुस्, जहाँजहाँ बस्ती हुन्छन् त्यो बस्ती भएका ठाउँमा कसैले खानी चलाउन पाउँदैन भन्ने नीति बनाउनुस् ।
जहाँजहाँ खेतीयोग्य जमिन छ, त्यो खेतीयोग्य जमिनमा बस्ती बसाउन पाउँदैन् भन्नुस्’ । बनेको नीति कार्यान्वयन गर्ने सन्दर्भमा पनि आवश्यक परे कठोर भएर प्रस्तुत हुनुपर्ने उनको राय छ ।
उनले थपे, ‘कृषियोग्य जमिनमा कसैले बस्ती बसालेको छ भने काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले डोजर बोके जसरी बोकेर भत्काइदिनुस् । त्यसपछि बल्ल देश सही बाटोमा जान्छ ।’