पाल्पाबाट बुटवल फर्किंदै गरेको कार दुर्घटना, ३ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ जेठ ३१ गते १२:१० मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल–१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

तिनाउ नदी पारी पर्ने नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । लु २ च ८५३१ नम्बरको कार बुधबार साँझ करिब साढे ८ बजेतिर बुटवल–१३ बंदेलपोखरी माथिको सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनैजनालाई डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन ।

दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us