नेपालसँग ४० मेगावाट बिजुली किन्ने बंगलादेशको निर्णय

काठमाण्डु टुडे २०८१ जेठ ३० गते १७:४३ मा प्रकाशित

काठमाण्डु, ३० जेठ– बङ्गलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको छ । ‘क्याबिनेट कमिटी अन गभरमेन्ट पर्चेस’ (सीसीजीपीं) को बैठकले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको बंगलादेशका सञ्चार माध्यमहरुले जानकारी दिएका छन ।

सीसीजीपीको १५ औं बैठकले गरेको निर्णयअनुसार भारतीय प्रसारण लाइन हुँदै नेपालबाट बिजुली लैजाने छ । बंगलादेशका अर्थमन्त्री अब्दुल हसन महमोद अलिले बंगलादेशी पावर डिभिजनको प्रस्तावअनुसार नेपालबाट बिजुली किन्ने निर्णय भएको सरकारी समाचार संस्थालाई जानकारी दिएका छन ।

यो निर्णयअनुसार बंगलादेश पावर डेभलपमेन्ट बोर्डले आगामी ५ वर्षका लागि नेपालबाट ४० मेगावाट बिजुली किन्नेछ । यसका लागि नेपाल–भारत–बङ्गलादेशबिच त्रिपक्षीय सम्झौता गर्ने समेत बङ्गलादेशको निर्णय गरेको छ ।

जसमा नेपाल विद्युत् प्राधिकरण, भारतको विद्युत् व्यापार निगम लिमिटेड र बङ्गलादेशको बोर्डबिच सहमति हुने बताइएको छ । प्रतियुनिट बिजुलीको मूल्य ८.१७ टाका बताइएको छ ।

यसअनुसार बंगलादेशले आगामी ५ वर्षमा ६ अर्ब ५० करोड टाकाको बिजुली नेपालबाट किन्नेछ । नेपाल र बंगलादेश लामो समयदेखि बिजुली व्यापारको सम्झौता गर्ने तयारीमा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us