हस् भइहाल्छ भन्ने होइन, काम र व्यवहारमा रूपान्तरण चाहियो: प्रधानमन्त्री 

काठमाण्डु टुडे २०८१ जेठ ३० गते १६:५४ मा प्रकाशित
काठमाण्डु, ३० जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् ।
आज (बुधबार)  सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति  बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन । उनले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको पनि बताएका छन  ।
उनले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई ध्यान दिइ इमान्दार र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा जुट्न सबैमा आह्वान गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस कार्यालयलाई शासकीय मामिलाको वास्तविक केन्द्र बनाउने हो, ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्यमा मात्र होइन ।’प्रधानमन्त्रीले चालु आर्थिक वर्षका बाँकी कार्यक्रम र क्रियाकलापको कार्यान्वयनमा विशेष ध्यान दिइ शतप्रतिशत नतिजा प्राप्तिमा जोड गर्न र आर्थिक वर्ष  ०८१ ८२ को नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा आवश्यक तयारीका काम समयमै सम्पादन गर्न निर्देशन दिएका छन ।
उनले तोकिएको समयमा निर्धारित लक्ष्य अनुरूपको नतिजा हासिल गर्न कर्मचारी वर्गको क्रियाशीलता आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यरत तहअनुसार कर्मचारीहरूको क्षमता विकास गर्नुका साथै उत्प्रेरणा तथा मनोबल बढाउँदै लगिने बताए ।
मन्त्रिपरिषद्को कार्यालय र मातहत निकायहरूको कार्यसम्पादनस्तर, नतिजा र गुणस्तरलाई राष्ट्रिय मानकको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता भएको प्रचण्डले बताए । उनले भने, ‘मुलुकको कार्यकारी मुख्यालयको समग्र छवि र प्रगतिमा सरकारको कार्यसम्पादनस्तर प्रतिविम्बित हुने भएकाले त्यस विषयमा ध्यान दिनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us