काठमाण्डु, ३० जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केही वर्षदेखि थला परेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भएर लाग्नुको विकल्प नभएको बताएका छन ।
आज (बुधबार) समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन ।
उनले भने, ‘राजनीतिक स्थिरता, परिवर्तन र सुशासनसँग जोडिएको अर्थतन्त्र बलियो बनाउन सकेनौँ भने लोकतन्त्र नै कमजोर भएर जान्छ । ’
उनले लोकतन्त्र समाप्त पार्न खोज्ने शक्ति सक्रिय भइरहेको अवस्थामा प्रधानमन्त्रीले अर्थतन्त्र बलियो बनाएर जनताको आयस्रोत वृद्धि गर्न जरुरी भएको पनि बताएका छन ।
उनले अर्थतन्त्रलाई बलियो बनाउने कार्यमा प्रधानमन्त्रीले अर्थतन्त्रका विज्ञ र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल तथा राय सुझाव लिएर अगाडि बढ्नसमेत दाबी गरेका छन ।
उनले भने, ‘राजनीतिक स्थिरताका लागि सरकारले मुलुकका देखिएका प्रमुख समस्या पहिचान गरी जनतामा परिवर्तनको महसुस दिलाउन सक्नुपर्छ, ‘प्रतिगामी शक्तिहरू अझै पनि जीवितै रहेकाले उनीहरूलाई परास्त गर्दै अगाडि बढ्नु पर्छ ।’
उनले लोकतन्त्रको हितमा सहकार्य गर्दै अगाडि बढ्ने समाजवादी पार्टीको उद्देश्य भएकाले प्रधानमन्त्रीकै लागि आफूले मरिहत्ते नगरेको पनि बताएका छन ।
एकीकृत समाजवादी पार्टीको दशौँ महाअधिवेशन असारको पहिलो हप्ता काठमाडौँमा हुने जानकारी दिँदै उनले महाधिवेशन तयारीका लागि २७ सदस्यीय मस्यौदा समितिसमेत गठन गरिएको जानकारी दिएका छन ।