उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबिच भेटवार्ता

काठमाण्डु टुडे २०८१ जेठ ३० गते १४:०९ मा प्रकाशित

काठमाण्डु, ३० जेठ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबिच भेटवार्ता भएको छ ।

आज (बुधबार) मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद भट्टले जानकारी दिएका छन ।

उनले राजदूतसँगको भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रका साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको ठोस प्रयास हुने विश्वास व्यक्त गरे ।

मन्त्री भण्डारीले भने, ‘नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ, त्यसपश्चात्को केही वर्षका लागि अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको निरन्तरताका लागि पहल गरिदिन पनि आग्रह गर्दछु ।’

उनले नेपालको उत्पादनशील क्षमता विकास गरी निर्यात अभिवृद्धि गर्न उद्योग तथा निर्यात व्यापार लक्षित प्राविधिक सहायता विस्तारका लागिसमेत भेटमा अनुरोध गरेको उनले जानकारी दिएका छन ।

भेटवार्ताको क्रममा राजदूत फेनले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको जनाउँदै नेपाल सरकारसँग नजिक भएर काम गर्न इच्छुक रहेको धारणा राखे । उनले भेटमा नेपाली नियार्तलाई प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us